
नेकपा एमालेका सांसद ठाकुर प्रसाद गैरेले संसदमा बोल्दै सरकारको नीति तथा कार्यक्रम सकारात्मक दिशातर्फ अघि बढिरहेको बताउँदै विपक्षी दलहरूको निराशावादी प्रवृत्तिलाई तीव्र आलोचना गर्नुभएको छ।
प्रतिनिधिसभामा सोमबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै गैरेले भारत–पाकिस्तानबीच बढ्दो तनावले क्षेत्रीय स्थायित्वमा असर गर्न सक्ने भन्दै नेपालले शान्तिको पक्षमा स्पष्ट र प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो।
गैरेले सरकारको चालु नीति तथा कार्यक्रम विगतको तुलनामा सकारात्मक रहेको उल्लेख गर्दै भन्नुभयो, “यसपटक कार्यक्रमले संविधानका निर्देशक सिद्धान्तहरूलाई आत्मसात गरेको छ, जुन अत्यन्तै स्वागतयोग्य पक्ष हो।”
तर उहाँको जोड भने विपक्षीको भूमिकातर्फ थियो। गैरेले आलोचना गर्दै भन्नुभयो, “विपक्षी नेताहरू ‘उडायो सबै सपना हुरीले’ भन्ने गीतबाट प्रभावित देखिन्छन्। कतै आशा छैन, सबै अँध्यारो छ भन्ने मनोवृत्ति देखियो।”
उहाँले थप्नुभयो, “सरकारमा नभएपछि ‘भत्काइदिन्छु बाख्राको खोर’ भन्ने सोच आउँछ। यस्तो विनाशकारी सोचले राष्ट्र निर्माण हुँदैन।”
गैरेले संसदमा आएको आलोचनामा तीन प्रवृत्ति देखिएको बताउनुभयो।—
- निराशावादी गीत–प्रेरित आलोचना
- सरकारमा नपुगेको झोक
- तथ्य, तर्क र सुधारको आधारमा गरिएको रचनात्मक सुझाव
गैरेको अनुसार, सरकारले यसपटक सिद्धान्तलाई प्राथमिकता दिएको छ, सामाजिक न्याय र गरिबी निवारणजस्ता मुद्दामा ठोस कार्यक्रम ल्याउने संकेत दिएको छ।