
पाल्पा — पाल्पाको निस्दी गाउँपालिकामा एक जिप दुर्घटनामा परि ६ जना यात्रु घाइते भएका छन्। नवलपुरको अरुणखोलाबाट निस्दी–४ मित्यालतर्फ आउँदै गरेको लु १ ज २६४९ नम्बरको जिप लामीदमार गाउँको मोड नजिक सडकबाट करिब २० मिटर तल खसेको हो।
घाइते हुनेमा निस्दी–४, मित्यालका ३९ वर्षीय धनसरी बयम्बु, ३० वर्षीया पुष्पा राई, उनीहरूको ३ वर्षीय छोरा अभिषेक राई, ९ वर्षीय राजन राई, निस्दी–७, ज्यामिरेका ४० वर्षीय गुनबहादुर सोमै मगर र कपिलवस्तु विजयनगर–१ का ५३ वर्षीय टेकबहादुर खण्डलुक मगर छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लका अनुसार घाइते सबैलाई उपचारका लागि नवलपुरस्थित अरुणखोला अस्पतालतर्फ पठाइएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिपमा चालकसहित १६ जना सवार रहेको र दुर्घटनाग्रस्त सवारीसाधन सडकबाट झण्डै २० मिटर तल खसेको रुक्सेभञ्ज्याङ प्रहरी चौकी मित्यालले जानकारी दिएको छ।