माथागढी, पाल्पा – माथागढी गाउँपालिका–३ सिलङ्गीस्थित जल्पादेवी आधारभूत विद्यालयको वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयको शैक्षिक सुधारमा गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।
सो अवसरमा जापानी समाजसेवी काजुमासा काकिमी (ओके बाजे) ले विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार सुधारका लागि महत्वपूर्ण सहयोगको घोषणा गरे। उनले विद्यालयका लागि ५० हजार रुपैंयाको अक्षयकोष स्थापना गर्नुका साथै नयाँ भवन निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। साथै, उनले विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण पनि गरेका थिए।
विद्यालयको वार्षिकोत्सव समारोहमा विद्यार्थी, अभिभावक, शिक्षक, व्यवस्थापन समिति सदस्य तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गाउँपालिका अध्यक्ष चिदीले गाउँपालिकाले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै विद्यालयका आवश्यकता सम्बोधन गर्न निरन्तर सहयोग गर्ने आश्वासन दिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि यस्ता सहयोगले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे।