
पाल्पा–बुटवल सडकखण्डअन्तर्गत तिनाउ गाउँपालिका–३, दोभानस्थित सिद्धबाबा क्षेत्रमा राति सवा १ बजेदेखि सडक ठप्प बनेको हो। ठूला ढुंगा र माटोसहितको पहिरो खस्दा राजमार्ग पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
सिद्धबाबा सुरुङमार्ग निर्माणस्थलमै पहिरो खसेको हुँदा अवरोध हटाउन कठिनाइ भएको प्रहरीको भनाइ छ। लगातार वर्षा जारी रहेकाले ढुंगा र लेदो झर्ने क्रम रोकिएको छैन। वर्षा रोकिएपछि मात्र सडक खुलाउने तयारी गरिएको बताइएको छ।
सडक बन्द भएपछि तल्लो सिद्धबाबा र दोभान क्षेत्रमै सयौँ सवारी साधन रोकिएका छन्। यात्रु सुरक्षित रहोस् भनेर वर्षा भइरहेको समयमा प्रहरीले सवारी सञ्चालन नगर्ने व्यवस्था गरेको छ।
राजमार्ग अवरुद्ध हुँदा पाल्पासँगै गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ जाने यात्रु र सवारी साधन सडकमै अलपत्र परेका छन्। यसले यात्रुहरूलाई ठूलो सास्ती परेको छ।
