पाल्पा, रम्भा–३ स्थित सितापहाड नजिकै एक महिला मृत फेला परेकी छन्। सिद्धार्थ राजमार्गको छेउमा रहेको खोल्सामा झाडीभित्र घोप्टो अवस्थामा देखिएकी ती महिलाको उमेर करिब ३५ वर्ष जतिको रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले उनलाई उद्धार गरी तत्कालै उपचारका लागि युनाइटेड मिशन अस्पताल, पाल्पा पुर्याएको थियो। तर, चिकित्सकले प्रारम्भिक परीक्षणपछि उनलाई मृत घोषणा गरेका छन्।
जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन। मृत महिलाको विशेषता यस प्रकार रहेका छन्:
- वर्ण: गहुँगोरो
- उचाइ: करिब ५ फिट १ इन्च
- पोशाक: निलो कुर्ता, निलो सुरुवाल, रातो चुन्नी
- गहनाः दुवै हातमा चुरा, नाकमा नत्थी, दुवै खुट्टाको औंलामा बिच्छु (औंठी)
- विशेष चिन्ह: बायाँ हातको नाडीमा पुतलीको ट्याटु, दुवै खुट्टामा कालो नेल पोलिस
शव हाल युनाइटेड मिशन अस्पतालमा राखिएको छ। प्रहरीद्वारा थप अनुसन्धान भइरहेको छ।
