
पाल्पा । माथागढी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सुन्दर श्रेष्ठले सम्हाल्नुभएको छ। यसअघि पूर्वखोला गाउँपालिकामा कार्यरत रहनु भएका श्रेष्ठले पाल्पाकै तिनाउ र बगनासकाली गाउँपालिकामा समेत प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरिसक्नुभएको अनुभव बोकेर माथागढी आउनुभएको हो।
यसैबीच, हालसम्म माथागढी गाउँपालिकामा सेवा गर्दै आउनु भएका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेलाई बिदाइ गरिएको छ। उहाँले सफलतापूर्वक कार्यकाल सम्पन्न गर्दै सामान्य प्रशासन मन्त्रालय अतिरिक्त सेवामा जाने तयारी गर्नु भएको हो।
गाउँपालिकाले बिहीबार आयोजना गरेको विशेष कार्यक्रममा श्रेष्ठलाई स्वागत गर्दै घिमिरेलाई बिदाइ गरिएको थियो। सो अवसरमा बुधबार मात्रै माथा प्रहरी चौकीमा पदभार ग्रहण गर्नुभएका प्रमुख थमन पराजुलीलाई समेत स्वागत गरिएको थियो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष यम चिदी, उपाध्यक्ष विष्णुमाया लुङ्चे, वडा अध्यक्षहरुको तर्फबाट प्रवक्ता शंकर दर्लामी, वडा सदस्यहरुको तर्फबाट खेमान दिशालगायतले मन्तव्य राख्दै घिमिरेको कार्यकालमा भएका गतिविधि र उपलब्धिको चर्चा गरेका थिए। साथै, नयाँ आएका श्रेष्ठसँग माथागढीमा अझ प्रगतिशील कामको अपेक्षा व्यक्त गरिएको थियो।
कार्यक्रम अध्यक्षता गाउँपालिका अध्यक्ष यम चिदीले गर्नुभएको थियो। स्वास्थ्य शाखा प्रमुख केशव जिसीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सूचना अधिकारी नित्यानन्द खनालले सञ्चालन गर्नुभएको थियो।
