रामपुरमा न्यायिक समिति र प्रहरी साझेदारी कार्यक्रम सम्पन्न
रामपुर, पाल्पा – रामपुर नगरपालिका न्यायिक समितिको आयोजनामा प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ। वडा नं. ६, विजयपुरमा मंगलबार आयोजित कार्यक्रममा कानूनी सचेतना, सामाजिक मेलमिलाप, अपराध नियन्त्रण, साइबर क्राइम, सडक सुरक्षा लगायतका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सभ्य र सुसंस्कृत नगर निर्माणका लागि सबै नागरिक सचेत हुन आवश्यक रहेको बताउँदै पछिल्लो समय नकारात्मक सोचको प्रभावका कारण अपराध र विवादहरू बढेको उल्लेख गर्नुभयो। उहाँले जनचेतना अभिवृद्धि तथा कानूनी ज्ञानको अभावले समाजमा आपराधिक गतिविधि वृद्धि भइरहेको भन्दै विवादलाई कानुनी प्रक्रिया र संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, रामपुर नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक बालकुमारी थापाले न्यायिक समितिले नगरभित्र उत्पन्न विवादहरूलाई मेलमिलापको माध्यमबाट निरुपण गर्दै आएको बताउनुभयो। उहाँले सामाजिक शान्ति र मेलमिलापलाई कायम राख्न सबै पक्षको सहकार्य आवश्यक रहेको औंल्याउनुभयो।
कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले समाजमा मेलमिलाप कायम गर्दै शान्तिपूर्ण वातावरण बनाउन सबै नागरिक सचेत हुनुपर्ने धारणा राख्नुभयो। यस्तै, इलाका प्रहरी कार्यालय रामपुर पाल्पाका प्रहरी निरीक्षक राम बहादुर नेपालीले लागुऔषध, साइबर क्राइम, सडक सुरक्षा तथा कानुनी उपचारका विषयमा सहजिकरण गर्नुभयो।
त्यस्तै, स्व. लोकनाथ उपाध्याय रेग्मीको स्मृतिमा स्थापित अक्षयकोषबाट शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै राम तुलसी नमुना माविका प्रधानाध्यापक बालकृष्ण लम्साल र पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको भन्दै पत्रकार सीता डोटेललाई नगदसहित सम्मान गरिएको थियो।