
रामपुर नगरपालिका–१० माथिल्लो मनभागाका स्थानीयवासीलाई लिफ्टिङ्ग मार्फत खानेपानी योजना सम्पन्न भएपछि वर्षौँदेखिको पानी अभावको समस्या समाधान भएको छ।
यसअघि स्थानीयले पिउने पानी ल्याउन घण्टौँ समय खर्चेर खोला–खोल्सामा धाउनुपर्ने बाध्यता थियो। खोलामा जम्मा भएको धमिलो पानी संकलन गरी प्रयोग गर्नुपर्ने अवस्था हटेपछि गाउँमा ठूलो सहजता आएको हो।
स्थानीयवासी अमिता थापाले घरमै धारा बाट २४ घण्टा शुद्ध पानी पाउन थालेपछि दैनिकी नै परिवर्तन भएको बताउनुभयो। त्यस्तै बहादुर गाहाले पानीको जोहो गर्न लाग्ने समय अब खेतीपाती र अन्य काममा खर्चिन पाउने भएकाले राहत पाएको प्रतिक्रिया दिनुभयो।
यस योजनाअन्तर्गत रामपुर नगरपालिकाले विभिन्न आर्थिक वर्षमा गरी कुल १७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ भने उपभोक्ताबाट ४ लाख २१ हजार ६ सय रुपैयाँ नगद तथा जनश्रमदान संकलन गरिएको थियो। सोही बजेटमा २२ हजार लिटर क्षमताको टंकी निर्माण गरी घरघरमा धारा जडान गरिएको हो।
योजनाका सचिव थान बहादुर गाहाका अनुसार हाल १८ घरधुरीले धारा प्रयोग गरिरहेका छन्। यसअघि ३६ घरधुरीले उपयोग गरेको भए पनि बसाइँसराइ र राजनीतिक कारणले संख्यामा कमी आएको हो।
समितिका अध्यक्ष दिल बहादुर सिंजालीले २०७४ सालको निर्वाचनपछि नगरपालिकाले बजेट व्यवस्था गरेसँगै योजना सम्पन्न हुन थालेको बताउनुभयो। वडा अध्यक्ष तोयानाथ सारु थापाले भौगोलिक विकटता र सीमित बजेटका कारण वडाका सबै बस्तीमा खानेपानी पु-याउन नसकिएको तर नगर र वडा मिलेर थप योजना अगाडि बढाइरहेको जानकारी दिनुभयो।
रामपुर नगर प्रमुख रमण बहादुर थापाले पहिलो निर्वाचन प्रचारका क्रममा पिउने पानीको समस्या देखेपछि जसरी भए पनि खानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाइएको र सोही अनुसार योजना सम्पन्न गरिएको बताउनुभयो। उहाँले जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखी नगरपालिकाले खानेपानीसहितका योजनामा निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो।
