पाल्पा -क्षेत्रनम्बर २ का सांसद तथा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिका सभापति ठाकुर गैरेले उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग पाल्पाको समग्र विकास र समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्नुभएको छ।
तानसेनमा भएको भेटमा सभापति गैरेले पाल्पाका विभिन्न विकास परियोजनाहरूबारे ध्यानाकर्षण गराउँदै रानिमहलको जग संरक्षण तथा विकास, भगवती मन्दिर पुनर्निर्माण, रिडी क्षेत्रको प्रवर्द्धन, तानसेन दरबार परिसर सुधार, मूलढोका निर्माण, माण्डव्य सरोवर, गुफाचौर, श्रीनगर लगायतका स्थानहरूको विकासमा सरकारले ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
त्यस्तै, पाल्पाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सडक, खानेपानीलगायत क्षेत्रका विकासका लागि गरिएका प्रयासहरूको जानकारी गराउँदै, थप सहयोगका लागि आग्रह गर्नुभएको छ।
उपप्रधानमन्त्री सिंहले पाल्पाको विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउँदै, सरकार नागरिक अपेक्षाअनुसार काम गरिरहेको र विकास योजनाहरूलाई गति दिने आश्वासन दिनुभएको छ।