
पाल्पा — पाल्पाको पूर्वखोला गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्था औपचारिक रूपमा “पोषणमैत्री स्वास्थ्य संस्था” घोषित भएका छन्।
हालै सम्पन्न कार्यक्रममार्फत गाउँपालिकाको जल्पा र सिलुवा स्वास्थ्य चौकीलाई पोषणमैत्री घोषणा गरिएपछि अब पालिकाभित्रका रिङ्नेरह, बीरकोट, देवीनगर, हेक्लाङ, जल्पा र सिलुवा सबै स्वास्थ्य संस्था पोषणमैत्री बन्न पुगेका हुन्।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय प्रमुख टंकनाथ खनाल, गाउँपालिका अध्यक्ष नुनबहादुर थापा, उपाध्यक्ष भागिरथी भट्टराईलगायतका पदाधिकारीको उपस्थितिमा स्वास्थ्य संस्थाहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
स्वास्थ्य शाखा प्रमुख मोहन ढकालका अनुसार, संस्थाहरुलाई पोषणमैत्री बनाउन आवश्यक सबै सूचकहरू पुरा गरिएका छन्। यसमा नियमित अनुगमन, प्रशिक्षित जनशक्ति, सफा शौचालय, स्वच्छ पानी, पोषण औषधि र उपकरणहरूको उपलब्धता सुनिश्चित गरिएको छ।
स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, व्यवस्थापन समिति र वडास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिहरूको सहकार्यमा यो उपलब्धि हासिल भएको हो। अब सूचकहरूलाई कायम राख्दै सेवा गुणस्तर अझ सुधार गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष थापाले बताए।
स्वास्थ्य संस्थाहरूमा पोषण सेवा सुदृढ गर्न आवश्यक सामग्री — भिटामिन ए, जिंक, बालभिटा, आइरन ट्याब्लेट लगायत एक महिनाको मौज्दात कायम गरिएको छ। साथै, प्रत्येक महिनामा समितिको बैठक बस्ने, पोषणसम्बन्धी जानकारी प्रदर्शन गर्ने, बालबालिकाको नियमित तौल नापजाँच गर्ने लगायतका गतिविधिहरू जारी छन्।
गाउँपालिकाले यो अवसरमा किशोर–किशोरी मैत्री सेवा, पूर्ण संस्थागत प्रसूति, पूर्ण खोप सुनिश्चितता लगायतका सेवा सुधार अभियान पनि सार्वजनिक गरेको छ।
कार्यक्रमको अन्त्यमा योगदान दिने सबै स्वास्थ्य चौकी व्यवस्थापन समिति र महिला स्वयंसेविकाहरुलाई सम्मान गरिएको थियो।