पाल्पा दर्पण

डढेलोले भयानक विपत्ति : निस्दी–१ बाँकामलाङमा घरगोठ जली खरानी, २५ लाखको क्षति

पाल्पा — जंगलमा लागेको डढेलोले एकैछिनमा घर–गोठ, जनावर र जिन्दगीभरको पसिनालाई खरानी बनाइदियो। निस्दी गाउँपालिका–१, बाँकामलाङको जुरेडाँडास्थित बन्चरेडाँडा जंगल क्षेत्रमा मंगलबार दिउँसो सुरु भएको डढेलो बस्तीमा पस्दा दिलबहादुर सारुको घरगोठ पूर्णरूपमा जलेर नष्ट भएको छ।स्थानीय शालिकराम पाण्डेयका अनुसार डढेलो हावाहुरीसँगै उडेर सारुको खरले छाएको गोठमा पसेपछि आगो फैलिँदै घरसमेत समेटिएको हो।गोठमा रहेका गाई, भैसी, २० वटा बाख्रा, अन्नपात, भाँडाकुँडा, लत्ताकपडा सबै जलेर नष्ट भएका छन्।प्रहरी चौकी केलादीका अनुसार प्रारम्भिक अनुमानमा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। सारुको घरसँगै रहेका थप दुई घरलाई भने स्थानीयको प्रयासमा डढेलोबाट जोगाइएको छ।डढेलो बस्तीमा पस्न नदिन स्थानीय बासिन्दा जंगलमै आगो निभाउन गएका बेला हावाहुरीले विपत्ति निम्त्याएको हो।यस भीषण विपत्तिपछि सारुलाई तत्काल राहत स्वरूप पछौटेपन उन्मुलन समाज (बेस) नेपालले ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ।यसैबीच, तिनाउ गाउँपालिका–५ को कोलडाँडा जंगल क्षेत्रमा पनि डढेलो लागेको खबर आएको छ।सामान्यतः शुष्क मौसम र हावाहुरीका कारण पाल्पाका वनक्षेत्र डढेलोको चपेटामा पर्ने गरेका छन्। यस्ता घटनाले केवल वन क्षेत्र मात्र होइन, मानवीय बस्ती र जीवनलाई समेत संकटमा पारिरहेको छ।

Exit mobile version