
पाल्पा — प्रतिनिधिसभाको नीति, निर्देशक सिद्धान्त तथा दायित्वको कार्यान्वयन अनुगमन समितिका सभापति ठाकुर प्रसाद गैरेले हालै पाल्पामा भइरहेका विभिन्न विकास निर्माण योजनाको स्थलगत अनुगमन गरी स्थानीय जनप्रतिनिधि र बासिन्दासँग प्रत्यक्ष संवाद गर्नुभएको छ। उहाँको यो भ्रमणले पाल्पाली जनताको अपेक्षा र विकास योजनाबीचको सेतुको रूपमा भूमिका निर्वाह गरेको छ।
रामदी देखि रानीमहलसम्म १७ किलोमिटर सडक तथा पक्की पुल निर्माण कार्यको निरीक्षणको क्रममा सभापति गैरेको नेतृत्वमा रहेको टोलीमा प्रदेशसभा सदस्य वीरबहादुर राना, जिल्ला समन्वय समिति प्रमुख जगन्नाथ खनाल, प्रमुख जिल्ला अधिकारी नारायण सुवेदी, कालिगण्डकी कोरिडोर आयोजनाका सूचना अधिकारी इञ्जिनियर अरुण खत्री लगायतका सहभागी थिए।
निरीक्षणको क्रममा सडक चौडा गर्ने, नाली निर्माण, वाल कटिङ लगायतका कार्य सन्तोषजनक अवस्थामा रहेको पाइयो। सभापति गैरेले आयोजनाको गति थप तीव्र बनाउने उद्देश्यले अर्थ मन्त्रालयमा पहल गरेर बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। रानीवनदेखि राम्जी खण्डसम्मको कालिगण्डकी कोरिडोर योजनालाई सुरक्षित तरिकाले ठेक्का दिइएकाले काम निरन्तर भइरहेको जनाइएको छ।
अनुगमनका क्रममा उहाँले स्थानीय तह, प्रदेश र संघीय सरकारबाट सञ्चालित योजनाहरूको समन्वय र प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो। विकास निरीक्षणसँगै, नयाँ वर्ष २०८२ को पहिलो दिन पाल्पाको तानसेन नगरपालिका 10 तेलघाको गुफाचौर क्षेत्रमा आयोजित खाना तथा पर्यटन महोत्सवमा पनि सभापति गैरेको विशेष उपस्थिति रह्यो। उक्त महोत्सवमा मगर समुदायका सांस्कृतिक प्रस्तुतिहरू, परम्परागत खानाको प्रदर्शनी, र विविध कला कार्यक्रमले हजारौं अवलोकनकर्तालाई आकर्षित गरे। उद्घाटन गर्दै उहाँले तानसेन लगायतका पर्यटकीय क्षेत्रलाई व्यवस्थित योजना र पूर्वाधार निर्माणमार्फत पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।