
पाल्पा, माथागढी – उद्योग व्यापार संघ माथागढीको आयोजनामा तेस्रो माडी महोत्सव यही जेष्ठ २ गतेदेखि १४ गतेसम्म माथागढी गाउँपालिका–३ स्थित कसेनी सराईमा आयोजना हुने भएको छ।
महोत्सवको मुख्य उद्देश्य माथागढी–माडी क्षेत्रमा उत्पादन हुने कृषि, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रवर्द्धन गर्नुका साथै स्थानीय कला र संस्कृतिको संरक्षण र जगेर्ना गर्नु रहेको मेला मूल आयोजक समितिका संयोजक तथा संघका अध्यक्ष भेगराज थापाले जानकारी दिनुभयो।
उहाँले पत्रकार सम्मेलनमा स्थानीय स्टलहरूलाई निःशुल्क रुपमा महोत्सवमा सहभागी गराइने बताउनुभयो। महोत्सवमा १५० भन्दा बढी स्टल रहनेछन जसमा बाल उद्यान, लत्ता कपडा, खाद्यान्न, होटल, घरेलु सामग्री लगायतका विभिन्न वस्तुहरूको प्रदर्शनी तथा बिक्री हुनेछ।
संघका अनुसार महोत्सवबाट करिब ३ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ भने १ लाख दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ।
पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष कमलराज तिमिल्सेनाले महोत्सवले स्थानीय व्यापारी तथा व्यवसायीका उत्पादनलाई प्रवर्द्धन गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम संघका अध्यक्ष भेगराज थापाको अध्यक्षता तथा महासचिव खेमान दिशामगरको सञ्चालनमा सम्पन्न भएको थियो। पत्रकार सम्मेलनमा पत्रकार महासंघ जिल्ला शाखाका निवर्तमान अध्यक्ष रेखिराम राना, वडा नं. ३ का अध्यक्ष तेज घर्ती लगायत विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकार तथा आयोजक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।