
पाल्पा दर्पण — लामो समयदेखि जारी शिक्षक आन्दोलनले अन्ततः कक्षा १२ को परीक्षा पनि सारिएको छ। यही वैशाख ११ गतेदेखि सुरु हुने भनिएको परीक्षा अब वैशाख २१ गतेबाट सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले परीक्षाको नयाँ मिति सार्वजनिक गर्दै १० दिनपछि परीक्षा हुने जानकारी दिएका हुन्।
बोर्डले मंगलबार बिहान आकस्मिक बैठक बोलाएर परीक्षा सार्ने निर्णय गरेको हो। बैठकमा शिक्षकमाथि परीक्षा सञ्चालनमा सहभागी हुन अनुरोध गरिएको थियो। तर शिक्षक महासंघले परीक्षा नै बहिष्कार गर्ने अडान लिएपछि बोर्डले कर्मचारीको सहायतामा परीक्षा लिने चेतावनीसमेत दिएको थियो। यतिमात्र होइन, उक्त निर्णयको चौतर्फी आलोचना भएपछि बोर्ड अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्ले स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटार पुगेका थिए। प्रधानमन्त्रीको निर्देशनपछि परीक्षा सार्ने निर्णय अन्ततः गरिएको हो।
नेपाल शिक्षक महासंघले चैत २० देखि काठमाडौंमा आन्दोलन गरिरहेको छ। कर्मचारी खटाएर परीक्षा सञ्चालन गर्ने निर्णय सार्वजनिक भएपछि महासंघले झनै आक्रोशित हुँदै केन्द्राध्यक्ष, प्रधानाध्यापक, शिक्षक र विद्यालय कर्मचारीलाई परीक्षामा सहभागी नहुन र आन्दोलनमा एकजुट हुन आह्वान गरेको छ।
यहीबीच, शिक्षामन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिएपछि आन्दोलन झन जटिल बन्न पुगेको छ।