पाल्पा — पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका–२ गोफेमा भिरमौरीको टोकाइबाट एक व्यक्तिको ज्यान गएको छ। मङ्गलबार दिउँसो ५० वर्षीय कमल विश्वकर्माको भिरमौरीले टोकेर मृत्यु भएको हो।
आर्यभञ्ज्याङमा आरन व्यवसाय गर्दै आएका विश्वकर्मा खाना खान जाँदै गर्दा अचानक भिरमौरीले टोकेका थिए। घाइते अवस्थामै उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास लगिएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कमल प्रधानका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।