पाल्पा दर्पण

६३ लाखको लागतमा पाल्पा निस्दीमा लिफ्ट खानेपानी योजना सम्पन्न

श्री कालिमाटी लिफ्ट खानेपानी तथा सरसफाई उपभोक्ता समिति, निस्दी-४ झ्याल्टुङ्गद्वारा निर्माण गरिएको लिफ्ट खानेपानी आयोजना आइतबार एक विशेष समारोहबीच उद्घाटन गरिएको छ।

उद्घाटन समारोहमा लुम्बिनी प्रदेशसभा अन्तर्गत अर्थ, उद्योग तथा पर्यटन समिति सभापति माननीय राजु प्रसाद श्रेष्ठको प्रमुख सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल सरकारका पूर्व भूमिसुधार मन्त्री माननीय दल बा राना, विशिष्ट अतिथि प्रतिनिधिसभा सदस्य माननीय नारायण प्रसाद आचार्य तथा संविधानसभा सदस्य माननीय राधाकृष्ण कंडेलको उपस्थिति रहेको थियो।

यसैगरी, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बा सारु, उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ, वडा नं. ४ मित्यालका वडा अध्यक्ष सन्तवीर सुनारी, इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख तथा अन्य स्थानीय जनप्रतिनिधि र उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

करिब ६३ लाख रुपैयाँको लागतमा सम्पन्न भएको उक्त आयोजना उपभोक्ताको श्रमदान र सरकारी सहयोगमा सम्पन्न भएको जनाइएको छ। आयोजनाले झ्याल्टुङ्ग क्षेत्रका स्थानीय बासिन्दालाई स्वच्छ खानेपानी पहुँचमा सहजता पुर्‍याउने विश्वास लिइएको छ।

Exit mobile version