पाल्पा दर्पण

सगरमाथा संवादले जलवायु न्यायको दिशा तय गर्ने विश्वास : सांसद ठाकुर गैरे

काठमाडौं, बैशाख ३० – संघीय सांसद ठाकुर प्रसाद गैरेले बिग्रँदो वातावरणीय समस्यालाई मानव जातिको भविष्यका लागि सबैभन्दा ठूलो चुनौती भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गैरेले जलवायु परिवर्तनका असरहरू स्पष्ट रूपमा देखिन थालेको र त्यसले नेपालजस्ता पहाडी मुलुकहरूमा गम्भीर प्रभाव पारिरहेको उल्लेख गरे।

उनले भने, “आज विश्वको सबैभन्दा ठूलो र महत्वपूर्ण चुनौती बिग्रँदो वातावरण बनेको छ। पानीका मूल स्रोत हिमालहरू हराउँदै गएका छन्, बाढी र पहिरोको जोखिम बढ्दै गएको छ।”

गैरेले वातावरण प्रतिकूल गतिविधिमा विकसित राष्ट्रहरूको भूमिका रहेको आरोप लगाउँदै तिनबाट सिर्जित समस्याको समाधान गर्न ढिला भइसकेको बताए। यस्तै, जलवायु न्यायको सुनिश्चितता आवश्यक रहेको उनको भनाइ थियो।

नेपाल सरकारद्वारा आयोजना गर्न लागिएको सगरमाथा संवादको प्रशंसा गर्दै उनले यस संवादले पृथ्वीको संरक्षण र जलवायु न्यायका पक्षमा अन्तर्राष्ट्रिय सहमति निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। “सगरमाथा संवादको भव्य सफलताको शुभकामना व्यक्त गर्छु,” गैरेले भने, “यस संवादबाट निष्कर्षहरू निस्कनेछन् र तिनको कार्यान्वयनका लागि सबै राष्ट्र प्रतिबद्ध हुनेछन् भन्ने विश्वास लिएको छु।”

उनले नेपालजस्ता मुलुकहरूलाई जलवायु परिवर्तनका प्रत्यक्ष प्रभावका लागि क्षतिपूर्ति दिनुपर्ने आवश्यकता पनि औंल्याए। “नेपालले क्षतिपूर्ति पाउनुपर्छ,” गैरेले स्पष्ट पारे।

सांसद गैरेको भनाइ सगरमाथा संवादजस्ता अन्तर्राष्ट्रिय पहलमार्फत नेपालले विश्वमञ्चमा आफ्ना चासो र अधिकारहरू प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने सन्देश दिन्छ।

Exit mobile version