
लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने ठोस योजना अघि सारेकी छन्। स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालेपछि उनले प्रदेशको प्रमुख स्वास्थ्य चुनौतीहरू पहिचान गर्दै, समन्वय र प्रविधिको अधिकतम उपयोगमार्फत स्वास्थ्य सेवा प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकी छन्।
महिला र बालबालिकाको स्वास्थ्य सुधार
प्रदेशमा महिला तथा बालबालिकाको स्वास्थ्य र पोषण अवस्था कमजोर छ। विशेषगरी मातृ तथा शिशु मृत्युदर उच्च रहेकाले यसलाई न्यून गर्न ‘Health (मोबाइल स्वास्थ्य)’ कार्यक्रम मार्फत डिजिटल स्वास्थ्य प्रोफाइल तयार गरिनेछ। गर्भावस्थादेखि सुत्केरी भएपछि ४२ दिनसम्म तथा नवजात शिशुहरूलाई निरन्तर निगरानीमा राखी जोखिम भएका बिरामीहरूको पहिचान गरी आवश्यक स्वास्थ्य सेवा प्रदान गरिनेछ।
नसर्ने रोगको पहिचान र रोकथाम
क्यान्सर, मुटु रोग, मृगौला समस्या तथा मानसिक स्वास्थ्य समस्याहरूको बढ्दो चापलाई न्यूनीकरण गर्न सामुदायिक तहबाटै स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिनेछ। समयमै रोग पहिचान गरी उचित व्यवस्थापन गर्ने तथा मानसिक रोग न्यूनीकरणका लागि नयाँ रणनीति कार्यान्वयन गर्ने योजना छ। साथै, स्वस्थ जीवनशैलीलाई प्रोत्साहित गर्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ।
संक्रामक रोग नियन्त्रण
लुम्बिनी प्रदेशमा कुष्ठरोग, मलेरिया, डेंगु, क्षयरोग, हेपाटाइटिस, तथा एचआईभी/एड्सका घटनाहरू अन्य प्रदेशको तुलनामा बढी देखिएकाले ती रोगहरूको नियन्त्रणलाई प्राथमिकतामा राखिनेछ। केस-आधारित निगरानी प्रणालीलाई प्रभावकारी बनाइने र रोगको संक्रमण रोक्न आवश्यक कदम चालिनेछ।
विशिष्ट रोगहरूको उपचारमा सुधार
सिकेलसेल, थालसेमिया तथा हेमोफिलियाका बिरामीहरूको पहिचान र व्यवस्थापनका लागि व्यापक स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिनेछ। अस्पतालहरूमा यी रोगहरूको विशेष उपचारका लागि छुट्टै वार्ड तथा विशेषज्ञ सेवा उपलब्ध गराइनेछ।
लुम्बिनी प्रादेशिक अस्पतालको क्षमता अभिवृद्धि
प्रादेशिक अस्पतालहरूमा सेवा सुधारका लागि जनशक्ति तथा आधुनिक उपकरणहरूको व्यवस्था गरिनेछ। लामो समय कुर्नुपर्ने शल्यक्रिया सेवालाई छिटो छरितो बनाउन OT (अपरेशन थियटर) को क्षमता विस्तार गरिनेछ। साथै, आकस्मिक स्वास्थ्य सेवा (EHS) लाई प्रभावकारी बनाइनेछ।
स्वास्थ्य बजेट वृद्धि पहल
स्वास्थ्य क्षेत्रमा सधैं बजेट अभाव रहने गरेको उल्लेख गर्दै सचिव श्रेष्ठले यसपटक स्वास्थ्य बजेट वृद्धि गर्न अर्थ मन्त्रालयसँग विशेष पहल गर्ने बताएकी छन्। उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै थप बजेट सुनिश्चित गर्ने प्रयास गरिनेछ।
दुर्गम क्षेत्रका अस्पतालमा विशेषज्ञ सेवा
दुर्गम क्षेत्रका अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको अभावलाई मध्यनजर गर्दै निजी अस्पताल तथा मेडिकल कलेजहरूसँग साझेदारी गरी विशेषज्ञ सेवा पुर्याइनेछ। यसले टाढा-टाढाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन मद्दत गर्ने विश्वास लिइएको छ।
सचिव श्रेष्ठका अनुसार यी योजनाहरू प्रभावकारी कार्यान्वयन भएमा लुम्बिनी प्रदेशका नागरिकको स्वास्थ्यमा उल्लेखनीय सुधार आउनेछ। समन्वय, प्रविधि र समर्पित प्रयासबाट प्रदेशको स्वास्थ्य सेवालाई थप व्यवस्थित बनाउने प्रतिबद्धता उनले व्यक्त गरेकी छन्।