
माथागढी गाउँपालिकामा सम्पन्न अन्तरपालिका माथागढी कप फुटबल प्रतियोगिताको उपाधि रामपुर नगरपालिकाले जितेको छ। बुधबार सराई खेल मैदानमा भएको फाइनल खेलमा रामपुरले आयोजक माथागढी ‘ए’ टोलीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो।
शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा माथागढी, रामपुर, तिनाउ, तानसेनसहित ६ टिमको सहभागिता रहेको थियो। उपाधिसँगै रामपुर नगरपालिकाले १ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता आयोजक माथागढी ‘ए’ ले ७५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो।
यसअघि तेस्रो स्थानका लागि भएको खेलमा तिनाउ गाउँपालिकाले तानसेन नगरपालिकालाई ३–१ गोल अन्तरले हराउँदै तेस्रो स्थानमा आफ्नो स्थान पक्का गरेको थियो। सो खेलमा तिनाउका अन्कीत रास्कोटी म्यान अफ द म्याच घोषित भएका थिए। विजेता, उपविजेता र तेस्रो स्थान हासिल गरेका टिमलाई वडा नम्बर ३ का अध्यक्ष तथा खेल संयोजक तेज घर्ती मगरले पुरस्कार प्रदान गरेका थिए।
माथागढी गाउँपालिकाको आयोजना तथा सराई खेल मैदानमा भएको यो प्रतियोगिता पाँच दिनसम्म चलेको थियो, जसले स्थानीय खेलप्रेमीहरूबीच ठूलो उत्साह र सहभागिता देखाएको थियो।