पाल्पा दर्पण

माथागढी परिसरमा नेपाली सेनाद्वारा निर्मित उद्यान गाउँपालिकालाई हस्तान्तरण

पाल्पा — नेपाली सेनाले माथागढी गाउँपालिका–५ स्थित माथागढी परिसरमा निर्माण सम्पन्न गरेको एक सौन्दर्यीकृत उद्यान मंगलबार औपचारिक रूपमा गाउँपालिकालाई हस्तान्तरण गरेको छ।

माथागढी परिसरमा आयोजित कार्यक्रममा नेपाली सेनाको तर्फबाट मध्यपश्चिम पृतनाका पृतनापति उपरथी प्रेमबहादुर पुनले गाउँपालिकाका अध्यक्ष यम चिदीलाई हस्तान्तरण प्रमाणपत्र प्रदान गर्नुभयो।

सीघ्र प्रभावी योजना अन्तर्गत नेपाली सेनाले परिसरमा ढुङ्गा बिछ्याउने र वातावरण सौन्दर्यीकरणको काम सम्पन्न गरेको थियो। नेपाल–अङ्ग्रेज युद्ध तथा नेपालको एकीकरणको सन्दर्भमा ऐतिहासिक रूपमा महत्वपूर्ण स्थलको संरक्षण र प्रचारप्रसारका लागि सेनाले उक्त काम अघि बढाएको हो।

कार्यक्रममा उपरथी पुनले तानसेनस्थित दि फेमस महिन्द्र दल गणको विशेष योगदानमा संरचना निर्माण सम्भव भएको जानकारी दिनुभयो।

उक्त अवसरमा गाउँपालिका अध्यक्ष यम चिदीले ऐतिहासिक स्थलको संरक्षणमा स्थानीय तहसँगै प्रदेश र संघीय सरकार तथा सुरक्षासंस्थाहरूको पनि सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले माथागढीलाई सामरिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण भन्दै यसको विकास र संरक्षणमा पालिकाले विशेष चासो दिएको बताउनुभयो।

सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले नेपाली सेनाले विपद् व्यवस्थापन मात्र होइन, ऐतिहासिक सम्पदाको जगेर्ना र प्रवर्द्धनमा समेत उल्लेखनीय योगदान दिएको उल्लेख गर्नुभयो।

कार्यक्रममा २२ नं. बाहिनीपति सहायक रथी पुरुषोत्तम खड्का, दि फेमस महिन्द्र दल गणका प्रमुख सेनानी भुपेन्द्र गुरुङ, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, पालिकाका प्रशासकीय अधिकृत, जनप्रतिनिधि तथा पत्रकारहरूको सहभागिता रहेको थियो।

Exit mobile version