
पाल्पा – व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना फैलाउने उद्देश्यले रामपुर नगरपालिका वडा नं. ९ जब्गादीमा आयोजित कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ। नेपाल सरकारको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत रामपुर नगरपालिकाले आयोजना गरेको यस कार्यक्रममा सरोकारवालाको उल्लेखनीय सहभागिता देखियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले व्यक्तिगत घटना—जस्तै जन्म, विवाह, सम्बन्धविच्छेद, बसाइँसराइ र मृत्यु—दर्ता समयमै गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले भन्नुभयो, “घटना दर्ता राज्य नीति निर्माण र सेवाप्रवाहको आधार हो। एउटा सानो लापरवाहीले बालबालिकाको भविष्यमा असर पर्न सक्छ।”
वडा नं. ९ का अध्यक्ष डिल बहादुर रानाले आफ्नै वडाको कार्यालय भवनमा आयोजित कार्यक्रममा बोल्दै भन्नुभयो, “समयमै घटना दर्ता भए वार्षिक योजना निर्माणदेखि सेवा प्रवाहसम्म सहज हुन्छ।”
कार्यक्रममा वडा नं. ३ का सचिव मदन पराजुलीले दर्ता प्रक्रियामा हुने त्रुटिबारे सचेत गराउँदै समयमै प्रक्रिया पूरा गर्न आग्रह गर्नुभयो। त्यस्तै, जनशान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक ढक बहादुर सिंजालीले जन्मदर्ता नहुँदा बालबालिकालाई विद्यालय भर्ना गर्न समेत समस्या हुने कुरा राख्नुभयो।
पञ्जिकरण शाखा प्रमुख प्रतिमा घिमिरेले नागरिकलाई चेतावनी दिँदै भन्नुभयो, “३५ दिनभित्र दर्ता नभएमा राज्यका धेरै सेवा सुविधाबाट वञ्चित हुनुपर्छ।”
कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितको अध्यक्षता, प्रतिमा घिमिरेको स्वागत र योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न टोल विकास संस्था, विद्यालयका शिक्षक, स्वयमसेविका लगायतको उपस्थिति थियो।
नेपाल सरकारले हरेक वर्ष बैशाख १ गतेदेखि ७ गतेसम्म ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ मनाउँदै आएको छ। यस वर्षको कार्यक्रम रामपुर वडा नं. ९ मा उत्साहका साथ सम्पन्न भयो।