
पाल्पा – लुम्बिनी प्रदेशका तीन जिल्लामा पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गर्ने अभियान सुरू गरिएको छ। पाल्पा, बाँके, र अर्घाखाँची जिल्लामा मोबाईल प्रविधिमार्फत पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गरिने भएको हो।
पाल्पामा आयोजित समुदायस्तरीय परिवार स्वास्थ्य प्रोफाइल तयारी तथा मोबाइल स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रममार्फत अभियानको शुभारम्भ गरिएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले उक्त अभियानको उद्घाटन गर्नुभएको हो।
उद्घाटन समारोहमा मन्त्री सारुले स्वास्थ्य सेवा सुधारका लागि नेता, नेतृत्व, र व्यवस्थापनमा सूक्ष्म रूपमा ध्यान दिनुपर्ने बताउनुभयो। साथै, सरकारले सुविधा सम्पन्न क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा स्वास्थ्य जनशक्ति व्यवस्थापनमा प्राथमिकता दिइरहेको उहाँले उल्लेख गर्नुभयो।
“एक्लो प्रयासले परिवर्तन सम्भव छैन, यसमा सबै तह र क्षेत्रको सक्रिय सहभागिता आवश्यक छ,” मन्त्री सारुले भन्नुभयो। उहाँले स्वास्थ्य सेवा प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आवश्यक सुझाव दिन पनि आग्रह गर्नुभयो।