पाल्पा दर्पण

पाल्पामा डढेलो निभाउने क्रममै बिदा भए टेकबहादुर

पाल्पा — पाल्पाको रिब्दीकोट गाउँपालिका–७, पालुङ मैनादीका ६१ वर्षीय टेकबहादुर सर्तुङ्गे मगरको डढेलो निभाउने प्रयासका क्रममा ज्यान गएको छ। पालुङ सामुदायिक वनमा फैलिएको डढेलो निभाउने क्रममा उनी जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले जानकारी दिए।

घटनास्थल भीरालो क्षेत्रमा पर्छ र आगोको लप्काले समातेर लड्दा सर्तुङ्गे जलेका थिए भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

वडा सदस्य रामबहादुर रानाका अनुसार तीन दिनदेखि लगातार लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। सुख्खा मौसम र तीव्र हावाहुरीका कारण आगो झनै फैलिँदै गएको छ। दैनिक २०० भन्दा बढी स्थानीय उपभोक्ताहरू डढेलो निभाउन खटिए पनि स्थितिलाई नियन्त्रणमा ल्याउन सकिएको छैन।

डढेलोका कारण कोर्तुङका धनबहादुर रानाको गोठ समेत जलेको छ। “एक्कासि हावाले लप्का उडाउँदा भाग्न नपाएर घटना भयो,” वडा सदस्य रानाले भने, “डढेलो निभाउने प्रयास जारी छ, तर हावाले पुनः फैलाउने काम गरिरहेको छ।”

यसैबीच, रम्भा गाउँपालिकाको रिमिघा डाँडाको जंगलमा लागेको डढेलो पनि नियन्त्रणबाहिर रहेको छ। पिपलडाँडाको गरुङ्गा क्षेत्रबाट सुरु भएको डढेलो विद्युत् लाइन सर्ट भएर सुरु भएको वनरक्षक शिव थापाले जानकारी दिए। हावा र भीरालो भूभागका कारण डढेलो नियन्त्रणमा ल्याउन समस्या भएको उनले बताए।

Exit mobile version