डिभिजन वन कार्यालय, पाल्पाका अनुसार देउरालीको लेक सामुदायिक वनमा ५० हेक्टर क्षेत्र आगोको चपेटामा परिसकेको छ। ४८ हेक्टर क्षेत्रफल रहेको देउराली–ख्याहाको संयुक्त भारेखोला सामुदायिक वन पूरै डढेलोले ग्रस्त बनाइसकेको छ।
त्यस्तै, ख्याहाको मधुवन सामुदायिक वन उपभोक्ता समूहको ६० हेक्टर वन क्षेत्र आगोले खाइसकेको छ। देउरालीकै वृन्दावन सामुदायिक वनमा पनि १० हेक्टर जंगल आगलागीबाट क्षति पुगेको छ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङले आगो नियन्त्रणमा लिन कठिनाइ भइरहेको बताए। “भौगोलिक विकटता र हावाहुरीका कारण आगो निभाउने प्रयास सफल हुन सकेको छैन,” उनले भने, “अहिले मुख्य प्राथमिकता बस्ती जोगाउनु रहेको छ, जंगलभित्र पुगेर निभाउने अवस्था छैन।”