पाल्पा – रिब्दीकोट गाउँपालिका–१ र २ अन्तर्गत देउराली र ख्याहा सीमावर्ती क्षेत्रमा मंगलबार दिउँसोदेखि डढेलो फैलिएको छ। संसारकोट डाँडाबाट सुरु भएको आगलागी तीव्र गतिमा फैलिंदै स्थानीय बस्तीहरू समेत जोखिममा परेको छ।
स्थानीयका अनुसार दिउँसो करिब १ बजे सल्लाको जंगलमा आगो लाग्न सुरु भएको थियो। आगलागी नियन्त्रणका लागि तानसेन नगरपालिकाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, वन कर्मचारी, स्थानीयबासी तथा जनप्रतिनिधिहरू खटिए पनि भौगोलिक कठिनाइका कारण नियन्त्रण गर्न कठिन भइरहेको छ।
डिभिजन वन कार्यालय, पाल्पाका अनुसार डढेलोले हालसम्म करिब १० हेक्टर वनक्षेत्र सखाप पारेको छ। कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङका अनुसार आगो नियन्त्रणका लागि थप प्रयास भइरहेको छ।
स्थानीय बासिन्दाले बिजुली ट्रान्सफर्मर सर्ट भएर आगलागी सुरु भएको आशंका गरेका छन्। सुख्खा मौसम र हावाहुरीका कारण आगो तीव्र गतिमा फैलिएको अनुमान गरिएको छ।