पाल्पा दर्पण

पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन, मतगणना सुरु हुन अझै ढिलाइ!

तानसेन, पाल्पा – त्रिभुवन बहुमुखी क्याम्पसमा आज सम्पन्न स्ववियु निर्वाचनको मतगणना अझै सुरु हुन सकेको छैन। मतगणना अघि बढाउन उम्मेदवार तथा विद्यार्थी संगठनबीच संयुक्त बैठक जारी रहेको छ, जसले मतदानको परिणाम प्रतीक्षारत विद्यार्थीहरूमा कौतुहलता पैदा गरेको छ।

क्याम्पस प्रमुख डा. टंक प्रसाद पन्थका अनुसार केहीबेरमै मतगणना प्रक्रिया सुरु हुने बताइएको छ। बिहान ८ बजेदेखि सुरु भएको मतदानमा कुल १,२२८ विद्यार्थीले आफ्नो मतदान अधिकार प्रयोग गरेका थिए। अध्यक्ष, सचिव, कोषाध्यक्षसहित १० पदका लागि प्रत्यक्ष प्रणाली र ९ पदका लागि समानुपातिक प्रणालीमार्फत निर्वाचन भएको थियो।

निर्वाचन अधिकृत जीवनबहाखुर थापाका अनुसार प्रत्यक्ष प्रणालीतर्फ मतदाताले उम्मेदवारलाई भोट दिएका थिए भने समानुपातिक प्रणालीतर्फ विद्यार्थी संगठनलाई मतदान गरिएको थियो।

मतगणना कहिले सुरु हुन्छ र नतिजा कहिले सार्वजनिक हुन्छ भन्ने विषयमा अझै अन्योल कायम छ। उम्मेदवार तथा विद्यार्थी संगठनबीच छलफल जारी रहेको हुँदा छिट्टै मतगणना सुरु हुने अपेक्षा गरिएको छ। अब मतगणनाले के नतिजा ल्याउने हो, सबैको नजर त्रिभुवन क्याम्पसमा केन्द्रित छ!

Exit mobile version