ठाकुर गैरेले वनपैदावार र शिक्षक आन्दोलनबारे संसदमा सरकारको ध्यानाकर्षण गराउनुभयो
काठमाण्डौं । पाल्पा जिल्ला क्षेत्र नम्बर २ प्रतिनिधि सभा सांसद ठाकुर गैरेले आज संसदमा वन पैदावारको सही उपयोग र शिक्षक आन्दोलनका विषयमा धारणा व्यक्त गर्नुभएको छ। वन पैदावारलाई आयात घटाउने र निर्यात बढाउने हिसाबले व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउँदै सामुदायिक वन उपभोक्ता समितिमार्फत वन व्यवस्थापनमा भएका महत्वपूर्ण प्रयासहरूको प्रशंसा गर्दै वन पैदावारको सही उपयोग गरिएमा देशको आर्थिक समृद्धिमा ठूलो योगदान पुग्ने बताउनुभयो। उहाँले भन्नुभयो, “हामीसँग वन पैदावारलाई निर्यात गर्न सक्ने पर्याप्त क्षमता छ, तर सरकारको सही नीति आवश्यक छ।”
वनपैदावारको प्रयोग र आर्थिक समृद्धिको सवालमा अहिले देशव्यापी आन्दोलन भइरहेको छ। विशेषगरी लुम्बिनी प्रदेशमा आन्दोलन तीव्र बनेको भन्दै उहाँले आन्दोलनरत पक्षहरूसँग वार्ता गरेर दीर्घकालीन समाधान खोज्न सरकारलाई आग्रह गर्नुभयो।
शिक्षक आन्दोलनप्रति गहिरो चासो
गैरे विद्यार्थी राजनीति हुँदै राष्ट्रिय राजनीतिमा प्रवेश गरेको नेता भएकाले शिक्षासम्बन्धी विषयमा विशेष चासो राख्ने गर्नुहुन्छ। यसै क्रममा उहाँले संसदमा विगतमा सरकारले शिक्षक महासंघसँग गरेका सम्झौताहरू तत्काल कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो। उहाँले भन्नुभयो, “शिक्षक आन्दोलनको पुनः तयारी भइरहेको छ। सरकारले सम्झौताहरू पूरा नगर्दा समस्या दोहोरिइरहेको छ।” उहाँले शिक्षा विधेयक छिटो पारित गर्नुपर्नेमा पनि जोड दिनुभयो।
भिडियो हेर्नुहोस्
https://hr.parliament.gov.np/np/video/21299