पाल्पा — रिब्दीकोट गाउँपालिकाले दलित र जनजाति समुदायका युवाहरूका लागि ३५ दिने निःशुल्क ड्राइभिङ तालिम सुरु गरेको छ। बेरोजगार युवालाई सीपमूलक तालिममार्फत रोजगारी र स्वरोजगार मा जोड्ने उद्देश्यले यो तालिम चैत २७ गतेदेखि औपचारिक रूपमा संचालनमा आएको हो।
कार्यक्रम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले भने, “हाम्रो प्राथमिकता भनेकै युवालाई दक्ष बनाएर रोजगारीको बाटो खोल्नु हो। यो तालिमले उनीहरूलाई व्यावसायिक ड्राइभर बन्न सहयोग पुर्याउनेछ।”
तालिमलाई गाउँपालिकाले गम्भीर पहल र प्रतिवद्धता स्वरूप लिएको छ। अध्यक्ष कार्कीका अनुसार यो कार्यक्रमले गाउँमै रोजगारी सिर्जना गर्ने दिशामा सकारात्मक प्रभाव पार्नेछ।
उद्घाटन कार्यक्रममा उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनाल, वडा नं. २ का अध्यक्ष ओमप्रसाद पोखरेल, कार्यपालिका सदस्य गोमा थापा लगायतको उपस्थिति रहेको थियो।