पाल्पा दर्पण

रम्भा, पूर्वखोला र निस्दी गाउँपालिकामा सञ्चालित क्षयरोग कार्यक्रमको संयुक्त समीक्षा सम्पन्न

पाल्पा — रम्भा गाउँपालिका–२, फोक्सिङ्गकोटस्थित रानीबास सामुदायिक होमस्टेको सभाहलमा रम्भा, पूर्वखोला र निस्दी गाउँपालिकामा सञ्चालित क्षयरोग कार्यक्रमको संयुक्त समीक्षा तथा विश्लेषण सम्पन्न भएको छ। कार्यक्रममा तीनै गाउँपालिकामा क्षयरोगको पत्ता लाग्ने दर, उपचारको अवस्था, सफलता दर तथा आगामी योजना र कार्यक्रमबारे विस्तृत छलफल गरिएको थियो।

समीक्षा कार्यक्रममा सहभागीहरूले क्षयरोग अब केवल सहरी क्षेत्रमै सीमित नरही ग्रामीण क्षेत्रमा पनि तीव्र रुपमा फैलिएको बताउँदै यसको रोकथामका लागि स्थानीय सरकारले उठाएका कदमहरूको चर्चा गरे।

पूर्वखोला गाउँपालिका अध्यक्ष नूनबहादुर थापाले प्रमुख अतिथिको हैसियतले बोल्दै क्षयरोग न्यूनीकरणका लागि स्थानीय तहको साझा प्रयासले उल्लेखनीय सफलता हासिल भए पनि रोग निर्मूल गर्न सबैको सचेत र निरन्तर प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे। उनले उपलब्ध जनशक्तिको अधिकतम उपयोग र समर्पित प्रयासद्वारा क्षयरोग नियन्त्रण सम्भव हुने बताए।

विशिष्ट अतिथि रम्भा गाउँपालिका उपाध्यक्ष राधाकुमारी श्रेष्ठ र जिल्ला समन्वय समिति सदस्य भोवीसरा सारुले सबै स्वास्थ्य संस्थाको सक्रियता र स्वास्थ्यकर्मीहरूको इमान्दार सहभागिता नै रोग रोकथामको मूल आधार हुने बताए।

स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेल, पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ, निस्दीका मदन अर्याल, रम्भाका वीरबहादुर पुनलगायत वक्ताहरूले क्षयरोगलाई मुलुकको प्रमुख स्वास्थ्य समस्या मानेर स्थापित नीति र कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिए।

कार्यक्रममा रम्भा, पूर्वखोला र निस्दी गाउँपालिकाका स्वास्थ्य संस्थाका प्रमुख, क्षयरोग फोकल पर्सन तथा स्वास्थ्यकर्मीसमेत गरी ३० जना सहभागी थिए। स्वास्थ्य कार्यालय पाल्पाका विश्वनाथ न्यौपानेले सहजीकरण गरेको कार्यक्रममा रम्भा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिवप्रसाद अर्यालले स्वागत मन्तव्य दिएका थिए।

कार्यक्रममा पूर्वखोला गाउँपालिकाको रिङ्गनेरह स्वास्थ्य चौकीका प्रमुख श्रीराज आचार्यले क्षयरोग निर्मूलका लागि तय गरिएका रणनीतिहरूलाई कडाईका साथ लागू गरिने प्रतिबद्धता व्यक्त गरे।

रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न समीक्षा कार्यक्रमको सञ्चालन जनस्वास्थ्य अधिकृत महेशप्रसाद आचार्यले गरेका थिए। रम्भा गाउँपालिकाले रानीबास सामुदायिक होमस्टेको प्रवर्द्धनका लागि सभाहलमा कार्यक्रम आयोजना गरेको हो।

Exit mobile version