पाल्पा दर्पण

रम्भा गाउँपालिकामा विकासको नयाँ पहिचान: अध्यक्ष विष्णुप्रसाद भण्डारीको नेतृत्वमा संरचनागत र सामाजिक सुधार

मिलन काफ्ले, पाल्पा दर्पण – लुम्बिनी प्रदेशअन्तर्गत पाल्पाको प्राकृतिक स्रोत साधनले समृद्ध रम्भा गाउँपालिका हाल विकास र परिवर्तनको नयाँ चरणमा पुगेको छ। गाउँपालिकाको दोस्रो कार्यकालका अध्यक्ष विष्णुप्रसाद भण्डारीको नेतृत्वमा कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा उल्लेखनीय उपलब्धि हासिल भएको छ।

साविक हुंगी गाउँ विकास समितिका पूर्वअध्यक्षसमेत रहेका भण्डारी २०७४ सालमा संघीयता कार्यान्वयनसँगै पहिलो पटक र २०७९ सालमा पुनः गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन्। लोकप्रिय नेता भण्डारीको नेतृत्वमा गाउँपालिकामा आधारभूत पूर्वाधारदेखि सामाजिक न्यायसम्मका क्षेत्रमा ठूला उपलब्धिहरू हासिल भइरहेका छन्।

पूर्वाधार र विकासमा प्रगति

भण्डारीको कार्यकालमा गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको निर्माण कार्य सुरु भइसकेको छ, जसलाई छिट्टै सम्पन्न गर्ने योजना छ। गाउँपालिकामा हालसम्म ७ किलोमिटर कालोपत्रे सडक निर्माण गरिएको छ भने सबै टोल बस्तीमा कच्ची सडक पुगेको छ। पालिकासम्म पुग्ने मुख्य सडक कालोपत्रे भएपछि यातायात सुगम बनेको छ।

कृषि क्षेत्रमा लिचि पकेट कार्यक्रम, स्मार्ट कृषि गाउँ तथा दुध, अण्डा र मासुमा आत्मनिर्भरता हासिल गर्न थालिएको छ। वडा नं. १ बाट मात्र करिब तीन करोड रुपैयाँ बराबरको लिचि निर्यात भएको छ। चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण भएपछि स्थानीय कृषकहरूलाई थप राहत पुगेको छ।

शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा उल्लेखनीय काम

गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब र प्रसूति सेवा उपलब्ध गरिएको छ। बालमैत्री स्थानीय शासन, शिक्षक दरबन्दी मिलान र विद्यालय मर्जका काम अघि बढाइएका छन्।
विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी र स्वयंसेविकाहरूलाई निःशुल्क दुर्घटना बीमाको सुविधा प्रदान गरिएको छ। विपन्न वर्गलाई स्वास्थ्य बीमा, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता र सामुदायिक आवासजस्ता कार्यक्रम पनि अघि बढाइएको छ।

संस्कृति र पर्यटन प्रवर्द्धन

मगर संस्कृति झल्काउने जनजाति संग्रहालय तथा होमस्टे कार्यक्रम सञ्चालनमा ल्याइएको छ। रम्भादेवी क्षेत्र, रिमिघा क्षेत्र, उत्तरवाहिनी महादेव मन्दिर र हुमीन राधाकृष्ण मन्दिरमा पूर्वाधार निर्माण गरी पर्यटन प्रवर्द्धनको काम भइरहेको छ।

नीतिगत चुनौती र समाधान प्रयास

भण्डारीका अनुसार संघीय संरचनामा गएपछि कानुन र ऐन निर्माणमा ढिलाइ, बजेट निकासाको समस्या जस्ता चुनौती छन्। तर, गाउँपालिकाले आफ्नै ऐन, नियम र कार्यविधि बनाएर नीति कार्यान्वयनलाई सहज बनाएको छ।

संघीयतापछि आएको परिवर्तन

भण्डारीले संघीयता लागू भएपछि स्थानीय विकासको दिशा प्रष्ट भएको र शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा ठूलो प्रगति भएको बताए। स्थानीय तहले जनताको माग र भौगोलिक विशेषताअनुसार काम गर्न पाएको हुँदा परिणाम जनमुखी बनेको उनको भनाइ छ।

यार्सागुम्बा अध्ययन र संरक्षण योजना

रिमिघालेकमा भेटिएको यार्सागुम्बाको परीक्षण भइरहेको छ। खाद्य तथा गुणस्तर विभागले विस्तृत अध्ययन गरेपछि यसको संरक्षण र वितरणका योजना अघि बढाइने अध्यक्ष भण्डारीले बताए।

भविष्यका चुनौती

सडकको गुणस्तर, आन्तरिक आम्दानी वृद्धि र कर्मचारी व्यवस्थापनमा अझै चुनौती रहेको अध्यक्ष भण्डारीले बताएका छन्। संघीय र प्रदेश सरकारको थप सहयोग मिलेमा गाउँपालिकालाई आर्थिक समृद्धिको बाटोतर्फ अघि बढाउन सहज हुने उनको धारणा छ।

Exit mobile version