
राज्यका निर्देशक सिद्दान्त निति र दायित्व को कार्यान्वयन अनुगमन तथा मुल्यान्कन समितिका सभापति एवम् पाल्पा-२ बाट निर्वाचित ठाकुर प्रसाद गैरेले कालापानी, लिपुलेक र लिम्पियाधुरा पूर्णरुपमा नेपालको भूभाग भएको भन्दै संसदमा कडा आपत्ति जनाएका छन्।
प्रतिनिधिसभामा बोल्दै गैरेले भने, “नेपालको अधिकार भएको भूभाग प्रयोग गरी भारत र चीनले लिपुलेक मार्ग हुँदै आपसी व्यापार गर्ने सहमति गरेका छन्, तर नेपाललाई जानकारी नगराई, छलफल बिना गरिएको यस्तो निर्णय गलत हो र सच्याउनुपर्छ।”
गैरेले भारतीय पक्षबाट आएको अभिव्यक्तिप्रति समेत कडा प्रतिक्रिया जनाए, जसमा भारतले नेपालले प्रस्तुत गरेका ऐतिहासिक दस्तावेजले दाबी पर्याप्त छैन भन्ने टिप्पणी गरेको थियो। उनले भने, “इतिहास, नक्सा र प्रमाण सबैले देखाउँछ– कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग हो। यसलाई नकार्ने कुनैपनि एकलौटी अभिव्यक्ति नेपालले कहिल्यै स्वीकार गर्ने छैन।”
उनले भारतलाई नेपालको सार्वभौमिकता र स्वाभिमानको सम्मान गर्दै कालापानीबाट भारतीय सेना फिर्ता बोलाउन आग्रह गरे।
यस विषयमा सम्पूर्ण राजनीतिक दललाई एकताबद्ध भएर प्रतिवाद गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले भने, “नेपालले कूटनीतिक माध्यममार्फत आफ्नो सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय गौरवको पक्षमा दृढतापूर्वक उभिनुपर्छ।”