
पाल्पा–बुटवल सडकखण्ड फेरि सञ्चालनमा आएको छ। पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानस्थित सिद्धबाबा क्षेत्रमा खसेको ढुंगा र लेदो हटाएपछि राजमार्ग सुचारु गरिएको हो।
गएको राति अविरल वर्षाका कारण ठूलो मात्रामा पहिरो खस्दा राजमार्ग पूर्णरूपमा बन्द भएको थियो। बिहानैदेखि सुरुङ्गमार्ग आयोजनाको टोलीले पहिरो पन्छाउने काम थालेपछि यातायात आवागमन पुनः खुल्न सफल भएको हो।
वर्षा नरोकिएपछि जोखिमका कारण तल्लो सिद्धबाबा र दोभान क्षेत्रमा नै सवारी साधन रोकिएको थियो। राजमार्ग बन्द हुँदा सयौँ सवारी साधन अलपत्र पर्नुका साथै पहाड–तराई आवागमनमा समस्या देखिएको थियो। अहिले भने सडक सुचारु भएपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ अघि बढेका छन्।