पाल्पा दर्पण

अमेरिकाको नयाँ ट्यारिफ नीति: नेपालमाथि 10% शुल्क लागू हुँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभर आफ्ना व्यापारिक साझेदारहरूलाई असर गर्ने गरी नयाँ ट्यारिफ नीति लागू गरेका छन्, जसको असर नेपालमा पनि पर्ने देखिएको छ।

ट्रम्प प्रशासनले एसिया-प्रशान्त क्षेत्रका विकासशील देशहरूमध्ये नेपालमाथि १० प्रतिशत आयात शुल्क (ट्यारिफ) लगाउने निर्णय गरेको छ। नेपालबाट अमेरिका निर्यात हुने प्रमुख वस्तुहरूमा तयार पोशाक, ऊनी गलैंचा, पश्मिना उत्पादन, छालाजन्य सामग्री, दाल, हस्तकला, मसला र पुष्पजन्य उत्पादनहरू पर्छन्।

सन् २०२४ मा नेपाल र अमेरिकाबीच कुल २४१.४ मिलियन अमेरिकी डलर बराबरको व्यापार भएको थियो। त्यसमध्ये नेपालले करिब १२०.५ मिलियन डलर बराबरका वस्तुहरू अमेरिका निर्यात गरेको थियो। नेपालको अमेरिका निर्यातमा पनि गिरावट देखिएको छ। अक्टोबर २०२४ मा १४.८६५ मिलियन डलर बराबरको निर्यात भएको थियो भने नोभेम्बरमा यो घटेर ८.९८७ मिलियन डलर मात्र रह्यो।

यसबीच, नेपालका छिमेकी भारतमाथि अमेरिकी प्रशासनले २६ प्रतिशत ‘प्रतिशोधात्मक शुल्क’ (reciprocal tariff) लगाउने निर्णय गरेको छ, जुन अप्रिल ९ देखि लागू हुनेछ। त्यस्तै, चीनबाट अमेरिका निर्यात हुने सबै वस्तुहरूमा २० प्रतिशतको पहिलाको ट्यारिफमा थप ३४ प्रतिशत शुल्क थपिएको छ।यसअघि नै ट्रम्प प्रशासनले दुई चरणमा १० प्रतिशत अतिरिक्त शुल्क चिनियाँ सामानमाथि लगाइसकेको थियो।

ट्रम्पले यो कदम सबै आयातमाथि १० प्रतिशत आधारभूत ट्यारिफ लगाउने आफ्नो व्यापक योजनाअन्तर्गत चालेका हुन्, जसअनुसार अप्रिल ५ देखि नयाँ नीति कार्यान्वयन हुनेछ।ट्रम्पको यो कदमलाई विश्वभरबाट आलोचना भइरहेको छ। धेरै विश्व नेताहरूले यसलाई ‘गम्भीर आर्थिक झट्का’ को संज्ञा दिएका छन्।

Exit mobile version